काठमाडौँ । बर्दियाको पूर्व–पश्चिम राजमार्गमा रोकिराखेको यात्रुवाहक बसलाई पछाडिबाट मिनी ट्रकले ठक्कर दिँदा १२ जना यात्रु घाइते भएका छन्। बर्दियाको बारबर्दिया नगरपालिका–९ स्थित खल्ला कतर्निया क्षेत्रमा उक्त सवारी दुर्घटना भएको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि १०२००२ ख १३५३ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे १ ख १७८६ नम्बरको बसलाई यात्रु झार्नका लागि रोकिराखेको अवस्थामा पछाडिबाट जोडले ठक्कर दिएको प्रहरीले जनाएको छ। सुरेश थारुले चलाएको मिनी ट्रकको ठक्करपछि बस सडकबाट करिब ५ देखि ६ मिटर दक्षिणतर्फ पल्टिएको थियो।
दुर्घटनामा परी घाइते भएका सबै १२ जना यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बाँकेस्थित मेडिकल कलेज कोहलपुर पठाइएको छ। प्रहरीले मिनी ट्रक चालक ३० वर्षीय सुरेश थारु र बस चालक २८ वर्षीय दिनेश थारु दुवै जनालाई नियन्त्रणमा लिएको छ। दुर्घटनापछि पनि सो सडक खण्डमा सवारी साधनको आवागमन भने नियमित रूपमा सञ्चालन भइरहेको छ।