काठमाडौँ । काठमाडौँबाट चार वटा मोटरसाइकलमा टोली बनाएर रामेछाप पुगी रिसइबीका कारण ज्यान मार्ने नियतले आक्रमण गर्ने आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पुरानो रिसइबीको बदला लिन योजनाबद्ध रूपमा पुगेका उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा रामेछापको खाँडादेवी गाउँपालिका–३ बस्ने २५ वर्षीय गोपाल बि.क., वडा नं. २ का २० वर्षीय दिपेन्द्र लोहार, वडा नं. १ का ३६ वर्षीय नारायण लोहार, मन्थली नगरपालिका–७ का ३२ वर्षीय करण बि.क. र सोही ठाउँका २५ वर्षीया विपना खाती रहेका छन्। त्यसैगरी सिन्धुलीको सुनकोसी गाउँपालिका–४ का २४ वर्षीय रमन बि.क., ३० वर्षीय रमेश बि.क. र २० वर्षीय चतुरलाल बि.क. पनि पक्राउ परेका छन्।
भदौ ७ गते बिहान करिब ०७ः०० बजे मन्थली नगरपालिका–७ कल्लेरीका करण बि.क.ले काठमाडौँबाट ८ जनाको टोली बोलाई खाँडादेवी गाउँपालिका–९ स्कुलडाँडामा ३५ वर्षीय जीवन बि.क.माथि कुटपिट गरेका थिए। आक्रमणबाट जीवन बि.क. गम्भीर घाइते भई बेहोस भएका थिए। घटनाको खबर पाउनासाथ खटिएको प्रहरी टोलीले घाइतेलाई तत्काल उपचारका लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल पठाएको थियो।
प्रहरीले घटनामा प्रयोग गरिएका बा.९६ प ६१२१, बा.प्र.०२–०३५ प ७९९३, बा.प्र.०२–०१८ प २०३२ र बा.२६ प २१९८ नम्बरका चार वटा मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेका आठै जनामाथि ज्यान मार्ने उद्योग कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमल राउतले जानकारी दिएका छन्।
