काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमूलस्थित ‘भ्याली ब्वाइज होस्टेल’ मा चक्कु प्रहार गरी युवकको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
भदौ ५ गते बिहान करिब १०ः१० बजेको समयमा होस्टेलको कोठा नम्बर १०९ मा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीलाई धारिलो हतियार (चक्कु) प्रहार गरी सख्त घाइते बनाएको खबर पाएलगत्तै प्रहरी वृत्त बानेश्वरको टोली खटिएको थियो। घाइते कालाथोकीलाई होस्टेलको बाहिरी प्यासेजमा फेला पारी तत्काल उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएकोमा उपचारकै क्रममा सोही दिन दिउँसो १२ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले सोही होस्टेलमा बस्ने बारा, कलैया उपमहानगरपालिका–३ का १९ वर्षीय शेखर यादवलाई नियन्त्रणमा लिएको थियो। घटनापछि फरार रहेका सोही वतन भई होस्टेलमा बस्ने १९ वर्षीय प्रमित पटेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भैँसेबाट पक्राउ गरिएको हो। यस्तै, महोत्तरी, लोहरपट्टी नगरपालिका–६ घर भएका २३ वर्षीय होस्टेल सञ्चालक आलोक ठाकुरलाई भदौ ७ गते काठमाडौँको बुद्धनगरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन्।
