काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको “नागरिक, नीति र नेतृत्व” कार्यक्रमअन्तर्गत गृहमन्त्री सुदन गुरुङले नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्। भदौ महिनादेखि सुरु भएको उक्त अभियानअन्तर्गत गृहमन्त्री गुरुङ भोलि भदौ ८ गते पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भई सर्वसाधारणका कुरा सुन्ने कार्यक्रम तय भएको छ।
पार्टीका अनुसार उक्त कार्यक्रम दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा गृहमन्त्रीसमक्ष राख्न पाउनेछन्। त्यसैगरी दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीका केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावका साथै समसामयिक राजनीतिक तथा नीतिगत विषयहरूमा गहन छलफल हुने जनाइएको छ।
साँझ ५ः०० बजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुने यस कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरिएको छ। नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएकाले सम्बन्धित सबैलाई सक्रिय सहभागिता र सहजीकरणका लागि पार्टीले अनुरोध गरेको छ।