काठमाडौँ । पछिल्लो केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थुप्रै प्रमुख सडक खण्डहरूमा यातायात पूर्ण तथा आंशिक रूपमा प्रभावित भएको छ।
बागमती प्रदेशका सडकहरू बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित बनेका छन्। जोखिम बढेपछि बीपी राजमार्गमा सम्भावित जोखिम टार्न साँझ ६ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने दिउँसोको समयमा परिस्थिति हेरेर मात्र गाडी चल्न दिइएको छ। त्यसैगरी, कान्ति लोकपथमा पनि बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित कोदारी र लिपिङमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। यसैगरी रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेसी, नुवाकोटको मध्य पहाडी लोकमार्ग र टोखा–छहरे सडक खण्डका साथै धादिङको दामन पाख्रिन सडक खण्ड पहिरोका कारण ठप्प छन्।
अन्य प्रदेशहरूमा पनि सडक यातायात प्रभावित बनेको छ। कोशी प्रदेशको भोजपुरमा मध्य पहाडी लोकमार्ग प्रभावित भए पनि वैकल्पिक बाटोमार्फत एकतर्फी यातायात सुचारु गरिएको छ भने इलामको मेची राजमार्गमा पहिरो गए पनि वैकल्पिक सडक उपलब्ध रहेको छ। गण्डकी प्रदेशअन्तर्गत बागलुङको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी–जोमसोम र मनाङको चामे–बेसीसहर सडक खण्डमा पहिरो पन्छाएर एकतर्फी मात्र सवारी साधन सञ्चालन गरिएको छ।
यस्तै, लुम्बिनी प्रदेशको रोल्पास्थित सहिदमार्ग (घोराही–थवाङ–रुकुम) पहिरोका कारण पूर्ण रूपमा ठप्प छ भने कर्णाली प्रदेशको रुकुम पश्चिममा बाढीका कारण जाजरकोट–डोल्पा सडक खण्ड अवरुद्ध बनेको छ। यद्यपि, पाल्पाको सिद्धार्थ राजमार्गमा खसेको पहिरो पन्छाएपछि भने उक्त सडक खण्ड अहिले पुनः सुचारु भइसकेको प्रहरीले जनाएको छ।

