हेटौँडा । लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष साढे दुई दशकदेखि पूर्ण रूपमा बन्द रहेको हेटौँडा कपडा उद्योगको दृश्य केही समयअघिसम्म यस्तै जीर्ण र उराठलाग्दो थियो। तर, अहिले भने अवस्था बदलिएको छ। साढे २५ वर्षपछि सोही उद्योगमा फेरि कपडा बुन्ने लुम (तान) को ‘खटखट’ आवाज गुञ्जिन थालेको छ र उद्योगले पुनर्जीवन पाएको छ।
सरकारले उद्योग पुनःसञ्चालनको तयारी थालेसँगै काठमाडौँबाट आएका प्राविधिक राजप्रसाद अमात्य र दाङका प्राविधिक रमेशबहादुर भट्टराईसहितको टोलीले जीर्ण अवस्थामा रहेका पुराना मेसिनहरूलाई मर्मत तथा आधुनिक प्रविधिमा रूपान्तरण गरी चलाउन सफल भएका हुन्। सुरुमा आउँदा बन्द र जीर्ण मेसिन हेरेर आँसु झरेको स्मरण गर्दै प्राविधिकहरूले अहिले तिनै ‘मरिसकेका मेसिनलाई जिउँदो बनाएर चलाउन पाउँदा’ खुसी व्यक्त गरेका छन्।
हाल उद्योगमा रहेका २० वटा लुममध्ये १० वटा लुमबाट कपडा उत्पादन भइरहेको छ भने तीमध्ये तीन वटालाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ। पुराना सटल लुममा डबी, स्लेवार्ड, ब्रेक र क्लचलगायत उपकरण परिवर्तन गरी आधुनिक र्यापियर प्रविधि जोडेपछि उत्पादन क्षमता साविकभन्दा तीन गुणाले बढेको छ। पहिले एउटा लुमबाट आठ घण्टामा २० देखि २५ मिटर कपडा उत्पादन हुने गरेकामा स्वचालित बनाएपछि सोही अवधिमा ६५ देखि ७० मिटरसम्म उत्पादन हुन थालेको छ। यी मेसिनबाट साडी, पोसाक, तन्ना, कोरा, रङ्गीन तथा बुट्टेदार कपडाका साथै निजामती कर्मचारी र सुरक्षा निकायका लागि आवश्यक कपडा उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ।
गत असार १८ गते मन्त्रिपरिषद्ले उद्योग पुनःसञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेनालाई सरसफाइ, विद्युत् मर्मत र मेसिन पुनस्र्थापनाको जिम्मेवारी दिइएको थियो। परीक्षण उत्पादनका लागि सरकारले ३३ लाख रुपैयाँ उपलब्ध गराएको छ भने हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा सैनिक मर्मतसम्भार र उत्पादनको तयारीमा खटिएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार उद्योगको स्थलगत अनुगमन गरी प्रगतिबारे जानकारी लिइन्। अनुगमनका क्रममा उनले परीक्षण उत्पादनका लागि हाल रिलायन्स उद्योगबाट कच्चापदार्थ ल्याइएको र स्वदेशमै कच्चापदार्थ प्रवद्र्धन गर्न कृषकहरूलाई कपासखेती गर्न आग्रह गरिने बताइन्। कृषकले उत्पादन गरेको कपास खरिदका लागि सरकार पूर्ण रूपमा तयार रहेको मन्त्री यादवको भनाइ थियो।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विसं २०३२ भदौ ३० गते दर्ता भई २०३५ माघ ५ गते औपचारिक उद्घाटन भएको यो उद्योग पूर्ण क्षमतामा चल्दा करिब १ हजार २०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए। तर, राजनीतिक हस्तक्षेप, बारम्बारका बन्द–हडताल, व्यवस्थापकीय कमजोरी र घाटाका कारण विसं २०५७ देखि उद्योग पूर्ण रूपमा थप्प भएको थियो। साढे दुई दशकपछि फेरि कपडा निस्कन थालेसँगै उद्योग सञ्चालनको आशा पलाएको छ, जसलाई दीर्घकालीन बनाउन थप लगानी, कच्चापदार्थ र दिगो व्यवस्थापनको आवश्यकता देखिएको छ।