काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा अवस्थित रहेकाले देशका विभिन्न भागमा मनसुनी गतिविधि सक्रिय रहेको छ।
सोही प्रणालीको प्रभावले अहिले देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थान तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र मधेश, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशभर साधारणतया बदली नै रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी प्रदेशको तराईका केही स्थान र अन्य प्रदेशका तराई भूभागमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।