जनकपुरधाम । जनकपुरधाममा अतिक्रमित सार्वजनिक तथा गुठीका पोखरीहरू खाली गराउने अभियानअन्तर्गत पहिलो दिन शनिबार सातवटा पोखरी अतिक्रमणमुक्त गराइएको छ। गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिको अगुवाइमा डोजर प्रयोग गरी पोखरी किनारमा अवैध रूपमा निर्माण गरिएका ६५ वटा घरटहरा भत्काइएको हो।
शनिबार गिरनारी (गोरधोइ) पोखरी, दीर्घीका सर, मुरली सर, रत्नसागर, अर्गजा सर, दशरथ तलाउ र विसहरा तलाउ क्षेत्रको अतिक्रमित भूभाग खाली गराइएको छ। यसअघि गत साउन १ गते नै सूचना जारी गरी अतिक्रमित ठाउँ खाली गर्न ताकेता गरिएको थियो। अतिक्रमण हटाउने कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन डोजरका साथै व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार अब दोस्रो चरणमा रेखाङ्कन गरी बाँकी पोखरीहरू खाली गराउने कार्ययोजना रहेको छ। समितिले पहिलो चरणमा जनकपुरका ५० वटा अतिक्रमित पोखरीहरूलाई पहिचान गरी उक्त क्षेत्र खाली गराउने लक्ष्य राखेको छ। अभियानलाई व्यवस्थित बनाउन पहिलो चरणमा पोखरी क्षेत्र, दोस्रोमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य गुठी जग्गा अतिक्रमणमुक्त गराउने गरी वर्गीकरण गरिएको छ।