काठमाडौँ । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका बुवाआमा र सरकारको प्रतिनिधिमण्डलबीच काठमाडौँमा वार्ता तथा छलफल सुरु भएको छ। सरकारसँगको वार्ताका लागि शनिबार अपराह्न सिमरा विमानस्थलबाट काठमाडौँ ल्याइएका गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीसँग गृह मन्त्रालयमा छलफल भइरहेको हो।
गृह मन्त्रालयमा जारी छलफलमा गृहमन्त्री सुधन गुरुङ, कृषिमन्त्री गीता चौधरीसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू र स्थानीय अभियन्ताहरूको सहभागिता रहेको छ। छलफलका क्रममा पीडित परिवारले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कानुनी कारबाही, र परिवारको सुरक्षा तथा राहतका विषयमा आफ्ना मागहरू प्रस्तुत गरेका छन्।
काठमाडौँ आउनुअघि सिमरामा बोल्दै मृतक बालिकाका बुवा मनोज चौधरीले आफ्नी अबोध छोरीले न्याय नपाएसम्म स्थानीयवासी र आन्दोलनकारीहरूलाई सडकको धर्ना तथा विरोध कार्यक्रम जारी राख्न आग्रह गर्नुभएको थियो। सरकारी टोलीले भने पीडित परिवारका सबै जायज मागहरू पूरा गरी न्याय दिलाउने प्रतिबद्धता व्यक्त गर्दै आएको छ।