काठमाडौँ । कृषि, पशुपन्छी विकास तथा वन वातावरण मन्त्री गीता चौधरीले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको हत्याको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै दोषीमाथि कडा कानुनी कारबाही हुने र पीडित परिवारले न्याय पाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । मन्त्री चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफ्नी पाँच वर्षकी छोरीले उक्त घटनाबारे भनेको कुराले आफूलाई भित्रैदेखि स्तब्ध बनाएको उल्लेख गरेकी छन्।
मन्त्री चौधरीका अनुसार शुक्रबार मन्त्रालयबाट फर्किएपछि साँझ छोरीसँग कुरा गर्दा फेसबुक न्युजफिडमा गरिमाको तस्बिर देखेपछि ५ वर्षकी छोरीले सहजै “ममी, यो बच्चाको त आँखा र जिब्रो निकालेर मारेको रे” भनी सोधेकी थिइन्। पाँच वर्षको अबोध बच्चाले समेत यस्ता क्रूर घटनाबारे थाहा पाउने अवस्था सिर्जना हुनुले समाज र हाम्रा छोरीहरूको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ।
शनिबार बिहानै सिमराबाट साथी राधा चौधरीले फोन गरी पीडित परिवारको पीडादायी अवस्थाबारे जानकारी गराएपछि आफूले तत्काल गृहमन्त्री सुधन गुरुङसँग फोनमा संवाद गरेको मन्त्री चौधरीले जानकारी दिइन् । कुराकानीका क्रममा गृहमन्त्रीले घटनामा संलग्न मुख्य व्यक्ति पक्राउ परिसकेको, परिवारसँग समन्वय भइरहेको र गम्भीरतापूर्वक अनुसन्धान अघि बढाइएको जानकारी दिएकी छन् ।
स्वयं थारू समुदायबाट प्रतिनिधित्व गर्दै सरकारमा पुगेकी जनप्रतिनिधिका रूपमा यो घटना आफ्ना लागि अझ संवेदनशील रहेको मन्त्री चौधरीले बताएकी छन् । उनले गरिमा चौधरीको परिवारले भोगिरहेको पीडा सिङ्गो समाज र राज्यका लागि गम्भीर चेतावनी भएको भन्दै कानुनी संयन्त्रलाई थप संवेदनशील, तत्पर र प्रभावकारी बनाउन आफ्नो तहबाट सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाईन् । मन्त्री चौधरीले दिवङ्गत बालिका गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन् ।