काठमाडौँ । चितवनको खैरहनीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–१ स्थित तरकारी चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउँसो १२ः२३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।
नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाप्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल एकापसमा जुध्न पुगेका थिए। दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २५ वर्षीया महिला गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।