सिमरा । बुधबारदेखि अवरुद्ध वीरगञ्ज–पथलैया सडक खण्ड चौथो दिन शनिबार पनि पूर्ण रूपमा ठप्प रहेको छ। तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोध र न्यायको माग गर्दै सडक बन्द गरिएको छ । पीडितलाई न्याय दिनुपर्ने माग गर्दै सडकमा उत्रिएका स्थानीयवासीले जितपुरसिमरा उपमहानगरपालिकास्थित सिमरामा सडकमै टेन्ट टाँगेर धर्ना र प्रदर्शन जारी राखेका छन्।
बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिको रोहबरमा पाँच बुँदे सहमति भएको थियो। इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलीप क्षेत्रीको सरुवासहितका माग पूरा भएपछि उक्त सहमति गरिएको भए पनि मृतक बालिकाका परिवारले मध्यरातमा भएको सो सम्झौता आफूहरूलाई अमान्य रहेको घोषणा गरेका छन्। परिवारले सहमति अस्वीकार गरेपछि जितपुरसिमरासहित बाराका विभिन्न स्थानबाट मानिसहरू सडकमा ओर्लिएर आन्दोलनलाई थप सशक्त बनाइरहेका छन्।
मृतक बालिकाको शव अझै कलैया अस्पतालमै रहेको छ भने परिवार र स्थानीयले दोषीमाथि कडा कारबाही र न्यायको सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्। चौथो दिन पनि मुख्य राजमार्ग ठप्प हुँदा वीरगञ्ज–पथलैया सडक खण्डमा सवारी साधनको लामो लाइन लागेको छ भने सर्वसाधारणको आवगमन प्रभावित बनेको छ।