काठमाडौँ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्याको विरोधमा ‘इन्डिपेन्डेन्ट मदर्स अफ नेपाल’ ले शनिबार काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा विरोध प्रदर्शन गरेको छ। बालिकामाथि भएको जघन्य अपराधको विरोध गर्दै प्रदर्शनकारीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ’बलात्कारीलाई फाँसी दे’, ‘कानुन मन्त्री चाहिन्छ’, र ‘हाम्रो छोरी, हाम्रो शान’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागी अञ्जु सुवेदीले अबोध बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध कडा नीति बनाउनुपर्ने र गरिमा चौधरीले न्याय पाउनुपर्ने बताइन्। उनले आगामी दिनमा छोरीचेली सुरक्षित हुने वातावरण बनाउनका लागि आम नागरिकले आवाज उठाउनुपर्नेमा जोड दिइन् ।
त्यस्तै, अर्की सहभागी अमृता गिरीले यस्ता अमानवीय घटना दोहोरिन नदिन आफूहरू शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताइन् । वर्तमान सरकारले महिला तथा छोरीचेलीहरूले समाजमा स्वतन्त्र र सुरक्षित रूपमा बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्ने उनको माग थियो।