जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोबाट विस्थापित भएका नागरिकहरूलाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरी राखिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले गरेको स्थलगत अनुगमनपछि पीडितहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने सहमति भएको हो। चार जनाको मृत्यु र १० जना घाइते भएको सो घटनापछि सिङ्गो रिसाङ बस्ती नै पहिरोको उच्च जोखिममा परेर विस्थापित बनेको छ।
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार विस्थापितहरूका लागि रिसाङ विद्यालय नजिक, विद्यालयभन्दा माथिको क्षेत्र र कल्याणपुरमा अस्थायी सेल्टर निर्माण गर्न जग्गाको टुङ्गो लगाइएको छ। नगरपालिका र जग्गाधनीबीच सहमति भइसकेकाले १६८ घरधुरीका ८९७ जना विस्थापितलाई ती अस्थायी सेल्टरमा राखिनेछ। सेल्टर निर्माणका लागि त्रिपाललगायतका सामग्री जडान गर्ने काम सुरु भइसकेको छ भने जग्गाको भाडा स्थानीय तहले व्यहोर्ने भएको छ। विपद् प्राधिकरणका संयोजक सुरेश सुनारका अनुसार भेरीका १, २, ३ र ४ नम्बर वडाको भौगोलिक अध्ययन सकिएकाले काठमाडौँ फर्केर अन्तिम प्रतिवेदन तयार पारिनेछ।
यता, जुनीचाँदे गाउँपालिका–६ स्थित सिर्प बस्तीका करिब ८० घरधुरी बाढी र पहिरोका कारण बाटोघाटो अवरुद्ध हुँदा अझै अलपत्र अवस्थामा रहेका छन्। सिर्क र सेती खोलाको बाढीले बाटो बिग्रिँदा राहत सामग्री पु¥याउन सकस भएको छ भने २ जना बेपत्ता अझै भेटिएका छैनन्। प्रतिनिधिसभा सदस्य खड्गबहादुर बुढाले अवरुद्ध सडक खोलेर तत्काल राहत पु¥याउन आग्रह गरेका छन् । यस्तै, लगातारको वर्षाका कारण जिल्ला सदरमुकाममा खानेपानीको आपूर्ति बन्द हुँदा स्थानीयले खानेपानीको चरम अभाव झेल्नुपरेको छ।