जनकपुरधाम । जनकपुरधामस्थित गुठी संस्थानको अतिक्रमित जग्गा तथा पोखरीहरू खाली गराउन आजदेखि डोजर चलाउन सुरु गरिएको छ। अभियानको पहिलो दिन जनकपुरधाम उपमहानगरपालिका–६ मा रहेको ऐतिहासिक गिरनारी पोखरीको अतिक्रमित डिल खाली गराउने काम अघि बढाइएको छ।
गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका अनुसार पहिलो चरणमा जनकपुरका पहिचान गरिएका ५० वटा पोखरीका डिलहरूलाई पूर्ण रूपमा अतिक्रमणमुक्त गराउने लक्ष्य राखिएको छ। समितिका सदस्य सचिव जनक पोखरेलले आजै सात वटा पोखरीको अतिक्रमण हटाइने जानकारी दिए । अतिक्रमित क्षेत्र खाली गराउन गत साउन १ गते नै ३५ दिने सूचना जारी गरिएको थियो।
समितिले गुठीको जग्गा फिर्ता ल्याउन तीन चरणको कार्ययोजना बनाएर काम सुरु गरेको छ। जसअन्तर्गत पहिलो चरणमा पोखरीको डिल, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य अतिक्रमित गुठी जग्गाहरू खाली गराइनेछ। यस कारबाहीका लागि वि.सं. २०६२ मा जनकपुरको गुठी जग्गा अतिक्रमणबारे छानबिन गर्न गठन गरिएको ’भोजराज घिमिरे नेतृत्वको कार्यदल’ को प्रतिवेदनलाई मुख्य आधार बनाइएको छ।