काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा ग्रामीण सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका प्रमुख सडकहरू बाढी–पहिरोबाट प्रभावित भएका हुन्।
सडक सुरक्षालाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा बाढीको जोखिमका कारण साँझ १८ः०० देखि बिहान ०४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, मकवानपुरको कान्ति लोकपथमा साँझ १७ः०० देखि बिहान ०५ः०० बजेसम्म र नुवाकोटको टोखा–छहरे सडक खण्डमा राति २२ः०० देखि बिहान ०५ः०० बजेसम्म अत्यावश्यकबाहेकका अन्य सवारीसाधन चलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
बाढी र पहिरोकै कारण पूर्वी नेपालको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर बाटो पूर्ण अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारी र लिपिङमा पहिरो जानुका साथै सडक भासिएपछि आवगमन ठप्प बनेको छ। रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक नदी कटानका कारण र पासाङल्हामु सडक पहिरोका कारण अवरुद्ध छन्।
यस्तै, रुकुम पश्चिमको भेरी करिडोर (जाजरकोट–डोल्पा), लमजुङको बेँसीसहर–मनाङ सडक (रामबजार), रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग र पाल्पाको सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा खसेको पहिरोले सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको छ। प्रहरी प्रधान कार्यालयले बाढी–पहिरोको जोखिम कायम रहेकाले यात्रुहरूलाई सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।