काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएका यात्रुहरूलाई प्रलोभनमा पारी अवैध रूपमा सुन भित्र्याउने प्रयास गरेको अभियोगमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यको उत्तर २४ पर्गना जिल्ला बस्ने २८ वर्षीय मोहम्मद राहिल हल्दार रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार दुबईबाट काठमाडौँ अवतरण गरेका यात्रुहरूलाई प्रयोग गरी भन्सार छली सुन ल्याउन लगाइएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले निगरानी बढाएको थियो। सोही क्रममा हिमालय एयरलाइन्सको उडानद्वारा काठमाडौँ आएका यात्रुले ल्याएको ९८ ग्राम काँचो सुन र ९८.४५ ग्रामको सुनको सानो लकेट भन्सार जाँचपास गराई बाहिर निस्किएपछि भारतीय नागरिक हल्दारले सङ्कलन गरिरहेको अवस्थामा उनलाई आगमन पार्किङ एरियाबाट नियन्त्रणमा लिइएको हो।
वैदेशिक रोजगारबाट फर्किएका सोझा यात्रुहरूलाई भन्सार महसुल छुटको फाइदा उठाउँदै प्रलोभनमा पारी सुन भित्र्याउन लगाउने र विमानस्थल बाहिर सङ्कलन गर्ने गिरोहमा हल्दार संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। बरामद गरिएको कुल १९६.४५ ग्राम सुनसहित पक्राउ परेका हल्दारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाएको प्रहरी उपरीक्षक एवं सूचना अधिकारीले जानकारी दिएका छन्।
