बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ माझँकटेरामा सँगै लेबर काम गर्दै आएका साथीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको आरोपमा २ जना पक्राउ परेका छन् । ढोरपाटन नगरपालिका–७ स्थायी घर भई हाल वडा नं. ५ बस्ने ३६ वर्षीय अशोक खत्रीको हत्या अभियोगमा प्रहरीले ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगर र ढोरपाटन नगरपालिका–५ का ३६ वर्षीय रिखे दमाईलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
गत साउन २६ गते राति अन्दाजी २१ः४० बजेको समयमा काठेखोला गाउँपालिका–३ माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा लेबर काम गरी बसिरहेका खत्रीमाथि धारिलो हतियार प्रहार भएको थियो। घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय मानिसहरूसँगको समन्वयमा प्रहरीले घटनापश्चात् भाग्न खोजिरहेका अर्जुन घर्ती मगर र रिखे दमाईलाई सोही राति धम्जा माझँकटेराबाट नियन्त्रणमा लिन सफल भएको थियो।
प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार साउन २० गते उनीहरू देबेन्द्र खत्रीको ओखरको बिरुवा रोप्ने काम गर्न घरबाट हिँडेका थिए। बाटोमा अशोक खत्रीको आफ्नै घरमा काम परेका कारण उनी बीचबाटोबाटै फर्किएका थिए भने अर्जुन र रिखे काम गर्ने स्थानतर्फ गएका थिए। साउन २४ गते अशोक पनि उनीहरू काम गरिरहेको स्थानमा पुगेपछि तीनै जना सँगै बस्दै आएका थिए। साउन २५ गते राति तीनै जनाबीच फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सामान्य विवाद उत्पन्न भएको थियो।
त्यसको भोलिपल्ट अर्थात् साउन २६ गते दिनभरको काम सकेर तीनै जना सँगै बसी मादक पदार्थ सेवन गर्ने क्रममा अघिल्लो दिनको विवादलाई लिएर पुनः झगडा भएको थियो। सोही विवादका क्रममा अर्जुन घर्ती मगरले अशोक खत्रीमाथि धारिलो चक्कु प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ।
मृतक अशोक खत्रीका १२, ९ र ७ वर्षका तीन जना छोराहरू रहेका छन् भने उनकी श्रीमती पुनः गर्भवती छन्। सम्पूर्ण परिवार उनकै कमाइमा आश्रित रहेको अवस्थामा मृतककी श्रीमती दिलमाया भण्डारीले कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दरखास्त पेस गरेकी छन्। घटनामा प्रयोग भएको चक्कु तथा रगत लागेका कपडाहरू समेत दशी प्रमाणका रूपमा बरामद गरिएको छ। प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान कार्य जारी राखेको छ।