जनकपुरधाम । जनकपुरधामस्थित गुठी संस्थानको अतिक्रमित जग्गा तथा ऐतिहासिक पोखरीहरू खाली गराउन भोलिदेखि डोजर चलाइने भएको छ। गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका अनुसार पहिलो चरणमा अतिक्रमित पोखरीका डिलहरूलाई अतिक्रमणमुक्त गराउने गरी डोजर चलाउने तयारी पूरा भएको छ।
कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार अतिक्रमित ठाउँ खाली गराउन गत साउन १ गते नै ३५ दिने सूचना जारी गरिसकिएको थियो। सोही सूचनाका आधारमा आज (बिहीबार) स्थानीय क्षेत्रमा माइकिङ गरी अतिक्रमित संरचना हटाइसक्न अन्तिम चेतावनी दिइएको छ। भोलिदेखि सुरु हुने अभियानको पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीका डिलहरूलाई पूर्ण रूपमा अतिक्रमणमुक्त बनाइने लक्ष्य राखिएको छ।
समितिले गुठीको जग्गा फिर्ता ल्याउन तीन चरणको कार्ययोजना बनाएको छ। जसअन्तर्गत पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य अतिक्रमित सार्वजनिक गुठी जग्गाहरू खाली गराइने सदस्य सचिव पोखरेलले जानकारी दिनुभयो। यस अभियानका लागि वि.सं. २०६२ मा जनकपुरको गुठी जग्गा अतिक्रमणबारे छानबिन गर्न गठन गरिएको ’भोजराज घिमिरे नेतृत्वको कार्यदल’ को प्रतिवेदनलाई मुख्य आधार बनाइएको छ। भोलि सर्वप्रथम गोरधोइ पोखरीको डिलमा निर्माण गरिएका अनधिकृत संरचनाहरूमा डोजर चलाएर अतिक्रमण हटाउने कार्यको सुरुवात गरिनेछ।