काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन–जी अभियन्ता तथा सांसद पुरुषोत्तम यादवलाई पार्टीको सह–महामन्त्रीको जिम्मेवारी दिएको छ।
शुक्रबार वनस्थलीस्थित घण्टीघरमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले यादवलाई सह–महामन्त्रीमा मनोनयन गर्ने निर्णय गरेको हो। पार्टीको निर्णयसँगै यादव रास्वपाका सबैभन्दा कान्छा पदाधिकारी बनेका छन्। यादव जेन–जी आन्दोलनका अगुवामध्ये एक हुन्। गत २३ भदौमा भएको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति लिने व्यक्तिहरूमध्ये उनी पनि एक थिए। यादव रास्वपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारी दिएसँगै रास्वपाभित्र उनको राजनीतिक भूमिका थप बढेको छ।