काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम साधारणतया बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनुका साथै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।
तराई क्षेत्रतर्फ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। यसैगरी मधेश प्रदेशका साथै कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने मौसमविद्हरूले जनाएका छन्।
मौसम पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षा, मेघगर्जन र चट्याङका कारण हुनसक्ने सम्भावित जोखिम तथा कटानबाट बच्नका लागि सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।