काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बखिमस्थित मध्य पहाडी लोकमार्गमा आएको बाढीका कारण बाटो एकतर्फी सुचारु रहेको छ जहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ। त्यस्तै इलाम नगरपालिका–९ राजदुवालीमा झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। बागमती प्रदेशको वि.पि. राजमार्गअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा साँझ १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ०४ः०० देखि साँझ १८ः०० बजेसम्म परिस्थिति हेरेर सवारी साधन सञ्चालन गर्न दिइएको छ। कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा पनि रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी र लिपिङस्थित अरनिको राजमार्ग तथा रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेँसी र पासाङ ल्हामु सडक खण्ड पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्। नुवाकोट र टोखा छहरे सडक खण्डको घट्टेखोलामा रातको १०ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
गण्डकी प्रदेशतर्फ बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर र मुस्ताङको थासाङ गाउँपालिका–४ कैकु खोलास्थित बेनी–जोमसोम सडक खण्ड पहिरोपछि हाल एकतर्फी सुचारु भएका छन्। यस्तै लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारस्थित बेसिशहर–मनाङ सडक खण्डमा पहिरो जाँदा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ, यद्यपि त्यहाँ अर्को वैकल्पिक बाटो प्रयोगमा ल्याइएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ।