बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा गत एक वर्षको अवधिमा विदेशी सिकारीहरूले २१ वटा नाउर र ११ वटा झारलको सिकार गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमार्फत विद्युतीय बोलपत्र (प्रतिस्पर्धा) मा सहभागी भई सिकार अनुमति पाएका विदेशी सिकारीहरूबाट राज्यले कुल चार करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार याम सञ्चालन हुने गर्दछ। आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार गत आर्थिक वर्षको पहिलो सिकार याम (असोज–मंसिर) मा ११ नाउर र आठ झारलको अनुमति दिइएकोमा आठ नाउर र पाँच झारलको मात्र सिकार भएको थियो। यस्तै, दोस्रो सिकार याम (फागुन–वैशाख) मा १४ नाउर र १० झारलको अनुमति दिइएकोमा १३ नाउर र ६ झारलको सिकार सम्पन्न भयो। अनुमति लिएर पनि प्राविधिक कारण, सिकारी बिरामी पर्नु, खराब मौसम तथा निसाना चुक्नु जस्ता कारणले केही कोटाको सिकार हुन नसकेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
ढोरपाटनमा विशेष गरी अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिको जस्ता देशहरूबाट सिकारीहरू आउने गरेका छन्। आरक्षलाई सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह गरी सात वटा ब्लकमा विभाजन गरेर सिकार गराइन्छ। सिकारका लागि आउने विदेशीहरू हेलिकप्टर, सहयोगी, बन्दोबस्तीका सामान र लाइसेन्ससहित १५ दिनको अवधिमा प्रतिव्यक्ति २० लाखदेखि ३५ लाख रुपैयाँसम्म खर्च गर्ने गर्दछन्। सिकारी टोलीसँगै सुरक्षाका लागि नेपाली सेना र आरक्षका कर्मचारीसमेत जङ्गल खटिने गर्छन्।
विसं २०३९ मा स्थापना भएको र बागलुङ, रुकुमपूर्व तथा म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यस आरक्षमा हालसम्म नेपाली सिकारीले भने प्रतिस्पर्धा गरेका छैनन्।