काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। स्मार्ट टेलिकमले धितो राखेको सम्पत्ति लिलाम गरेको विषयमा परेको मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले पाण्डेलाई धरौटीमा छाड्न आदेश दिएको हो।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार थुनछेक बहसपछि अदालतले पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको जानकारी दिए ।
स्मार्ट टेलिकमको कर्जा असुलीका क्रममा धितो लिलामी प्रक्रियालाई लिएर दायर गरिएको मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको थियो। बैंक पक्षले भने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र सुरक्षित कारोबार ऐन, २०६३ को परिधिभित्र रहेर नै कर्जा असुली र लिलामी प्रक्रिया अघि बढाइएको दाबी गर्दै आएको छ।