काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकासँग साथी बनेर उनको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन् । फेसबुकमार्फत साथी बनेर ब्ल्याकमेल गरी रकम माग गर्ने युवालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. ७ बस्ने १९ वर्षीय सुदिप कटुवाल रहेका छन्।
साइबर ब्यूरोका अनुसार अभियुक्त कटुवालले फेसबुकमा नाबालिकासँग साथी बनी उनलाई विभिन्न प्रलोभनमा पारेका थिए। त्यसपछि निज नाबालिकाका अश्लील सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गरेको र मानसिक दबाब दिँदै रकमसमेत माग गरेको भनी ब्यूरोमा निवेदन परेको थियो। प्राप्त निवेदनका आधारमा प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्दा कटुवालको संलग्नता पुष्टि भएपछि ब्यूरोबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई भदौ ३ गते नियन्त्रणमा लिएको हो।
पक्राउ परेका कटुवालमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ। काठमाडौँ जिल्ला अदालतबाट दिन सात (७) को म्याद थप अनुमति लिई उनीमाथि थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दलीप कुमार गिरीले जानकारी दिएका छन्।
