काठमाडौँ । नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा खानतलासी गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त प्रहरी टोलीले बिहीबार भक्तपुरको निकोसेरामा रहेको प्रसाईंको घरमा पुगेर खानतलासी गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका एक वरिष्ठ अधिकृतका अनुसार प्रसाईंले लघुवित्त पीडितहरूलाई उक्साएर आन्दोलनका लागि प्रेरित गरेको आरोपमा अनुसन्धानका क्रममा उनको घरमा खानतलासी गरिएको हो। खानतलासीको टोलीको नेतृत्व उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत थापाले गरेका छन् ।
अहिले लघुवित्त तथा वित्तीय संस्था पीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयअगाडि विभिन्न माग राखी धर्नामा बसिरहेका छन्। सोही आन्दोलनलाई पछाडिबाट उक्साएको र अशान्ति फैलाउन सहयोग गरेको आशङ्कामा प्रहरीले प्रसाईंको निवासमा सूक्ष्म अनुसन्धान तथा खानतलासी सुरु गरेको जनाएको छ।