काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरका ऐतिहासिक सम्पदा, कला र संस्कृति संरक्षणको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिएका छन् ।
खौमामा पुनर्निर्माण गरिएको इन्द्रायणी द्योछें देवघर को उद्घाटन गर्दै बिजुक्छेले पुस्तान्तरणमार्फत सम्पदा संरक्षणको अभियानलाई निरन्तरता दिनुपर्ने बताए । भक्तपुरका सम्पदा, कला र संस्कृति आफैँमा एउटा विश्वविद्यालयजस्तै भएकाले यसको अध्ययन, अनुसन्धान र संरक्षणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।उनले ऐतिहासिक सम्पदा केवल पुराना संरचना नभई समाजको इतिहास, संस्कृति र पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षणमा नयाँ पुस्तालाई सहभागी गराउनुपर्ने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धारलाई नगरपालिकाले प्राथमिकतामा राखेर अघि बढाइरहेको बताए ।उनका अनुसार नगरपालिकाले हालसम्म १ सय ८५ वटा ऐतिहासिक सम्पदाको संरक्षण गरिसकेको छ । मठ, मन्दिर, फल्चा, ढुङ्गेधारा लगायतका सम्पदाको संरक्षण तथा पुनर्निर्माणलाई नगरपालिकाले निरन्तरता दिइरहेको उनले बताए ।इन्द्रायणी द्योछें पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायका अनुसार देवघर पुनर्निर्माणमा ३ करोड ७६ लाख ४ हजार ४ सय ६६ रुपैयाँ खर्च भएको छ । पुनर्निर्माणका क्रममा स्थानीयवासीले करिब १७ लाख रुपैयाँ बराबरको भौतिक सहयोग समेत गरेका थिए ।भक्तपुरका पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय समुदायको सहभागिता महत्वपूर्ण रहँदै आएको छ । पछिल्लो समय नगरपालिकाले स्थानीय सहभागितामार्फत सम्पदा पुनर्निर्माण तथा संरक्षणलाई अघि बढाउँदै आएको छ ।