काठमाडौँ । रुपन्देहीमा राहदानी बनाउने सेवाग्राहीको संख्या उल्लेख्य रहेको पाइएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरणअनुसार एक वर्षमा जिल्लाबाट २४ हजार ५३५ जनाले राहदानीका लागि आवेदन दिएका छन्। राहदानी सिफारिस तथा वितरणबापत कार्यालयले मात्रै ९ करोड ४६ लाख ७१ हजार ४५१ रुपैयाँ राजस्व संकलन गरेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार २०८२ साउन १ गतेदेखि २०८३ असार मसान्तसम्म परेको आवेदनमध्ये जिल्ला प्रशासन कार्यालयबाट १७ हजार १२३ र इलाका प्रशासन कार्यालय बुटवलबाट ७ हजार ४१२ आवेदन परेका थिए।
सोही अवधिमा २२ हजार ३४७ वटा राहदानी कार्यालयमा प्राप्त भएका थिए। तीमध्ये २० हजार ९५० वटा सेवाग्राहीलाई वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट प्राप्त १४ हजार ९३५ राहदानीमध्ये १४ हजार ६९४ वटा वितरण भएका छन् भने इलाका प्रशासन कार्यालय बुटवलबाट प्राप्त ७ हजार ४१२ मध्ये ६ हजार २५४ वटा वितरण गरिएको तथ्यांकमा उल्लेख छ। आवेदनको संख्या र प्राप्त राहदानीबीच तथा प्राप्त राहदानी र वितरण भएको संख्याबीच देखिएको अन्तरले केही राहदानी प्रक्रियामा रहेको तथा वितरणका लागि बाँकी रहेको देखाउँछ। यसले जिल्लामा राहदानी सेवाप्रति नागरिकको माग निरन्तर उच्च रहेको संकेत गरेको पाध्याले बताए।
राहदानीसँगै रुपन्देहीमा नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिने सेवाग्राहीको संख्या पनि ठूलो छ। जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय बुटवल, मझगवाँ र मानपकडीबाट गरी एक वर्षमा २५ हजार ८७३ जनाले वंशजका आधारमा नयाँ नागरिकता लिएका छन्। यस अवधिमा २२ हजार २६ वटा नागरिकताको प्रतिलिपिसमेत जारी गरिएको छ। राष्ट्रिय परिचयपत्रतर्फ भने एक वर्षमा १ लाख १ हजार ४०१ जनाको विवरण दर्ता भएको छ। सरकारी सेवा तथा डिजिटल पहिचानका विभिन्न प्रक्रियामा राष्ट्रिय परिचयपत्र जोडिँदै गएसँगै यसको विवरण दर्ता गर्ने सेवाग्राहीको संख्या पनि बढेको प्रशासनको तथ्यांकले देखाएको छ। कार्यालयमा प्राप्त गुनासा तथा विवाद समाधानतर्फ पनि उल्लेख्य काम भएको छ। मिटरब्याजसम्बन्धी २४७ निवेदनमध्ये १५७ वटा फछ्र्योट भएका छन्। वैदेशिक रोजगारीसम्बन्धी १७३ वटै उजुरी समाधान गरिएको छ। त्यस्तै, ‘हेलो सरकार’मार्फत प्राप्त १६५ र नागरिकस्तरबाट आएका ३९१ वटै गुनासा फछ्र्योट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाध्याले जानकारी दिए। बजेट कार्यान्वयनमा पनि कार्यालयले राम्रो प्रगति गरेको जनाएको छ।
गत आर्थिक वर्षमा चालुतर्फ ९३.५४ प्रतिशत र पुँजीगततर्फ ९८.८३ प्रतिशत बजेट खर्च भएको छ। प्रशासनिक सेवा, संस्था नवीकरण, दण्ड–जरिवाना, राहदानी शुल्कलगायत विभिन्न शीर्षकबाट कार्यालयले एक वर्षमा कुल ९ करोड ९६ लाख ६ हजार ४५१ रुपैयाँ राजस्व संकलन गरेको छ। कुल राजस्वमध्ये राहदानी सेवाबाट मात्रै ९ करोड ४६ लाखभन्दा बढी संकलन हुनुले उक्त सेवा कार्यालयको राजस्वको प्रमुख स्रोत बनेको देखिन्छ। समग्र तथ्यांकले रुपन्देहीमा नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीजस्ता नागरिक सेवाको माग उच्च रहेको देखाएको छ। विशेषगरी एक वर्षमै २४ हजारभन्दा बढी राहदानी आवेदन पर्नुले वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि राहदानी बनाउनेको संख्या उल्लेख्य रहेको देखाउँछ। बढ्दो सेवाग्राहीको चापलाई मध्यनजर गर्दै प्रशासनिक सेवाप्रवाहलाई थप सहज, छरितो र प्रविधिमैत्री बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पाध्याले बताए।