दाङ । दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा अटो चालक घोराही उपमहानगरपालिका–५ बसन्तपुर बस्ने ४५ वर्षीय विनोद पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत ३ गते बेलुकी २०ः०० बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा अटोमा सवार तीन जना गम्भीर घाइते भएका थिए। घाइते पौडेलको उपचारका क्रममा ४ गते बिहान ०२ः४५ बजे मेडिकल कलेज, कोहलपुर बाँकेमा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको अवस्था मध्यम रहेको र उनीहरूको उपचार भइरहेको छ। प्रहरीले ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका–१७ भैसाही बस्ने २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।