काठमाडौँ । देशका विभिन्न भागमा जारी अविरल वर्षा र पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सहायक सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार कतिपय राजमार्ग पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको जनाएको छ ।
गण्डकी प्रदेशअन्तर्गत लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारस्थित बेसीसहर–मनाङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिका–४ कैकु खोलास्थित बेनी–जोमसोम सडक र वारागुङ मुक्तिक्षेत्र स्थित जोमसोम–कोरला सडक खण्डमा पहिरो तथा बाढीका कारण एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ।
बागमती प्रदेशमा काभ्रेस्थित बि.पि. राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जे खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा पनि रातिको समयमा सवारी सञ्चालन स्थगित गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी–२ कोदारी र लिपिडस्थित अरनिको राजमार्ग तथा रसुवाको उत्तरगया–५ खाल्टेस्थित त्रिशुली–मैलुङ–स्याफ्रुबेसी सडक खण्ड बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेका छन्। नुवाकोटको शिवपुरी–८ घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा पनि सम्भावित जोखिमका कारण रातिको समयमा यात्रामा रोक लगाइएको प्रहरीले जनाएको छ।
कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिमस्थित मध्य पहाडी लोकमार्ग पहिरोपछि एकतर्फी रूपमा खुलाइएको छ भने इलामको राजदुवालीस्थित मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ। यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा बन्द रहेको छ।

