काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशका धेरैजसो भूभागमा वर्षाको सम्भावना कायमै रहेको हो। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागले जारी गरेको मौसम सम्बन्धी बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानका साथै मधेस र कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ।
आज रातिको समयमा देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल रहनेछ। राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा÷हिमपातको सम्भावना छ। साथै पहाडी भूभागका केही स्थान र कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।