काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको रिक्त रहेको डेपुटी गभर्नर पदमा दीर्घबहादुर रावललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकका कार्यकारी निर्देशक रावललाई आगामी ५ वर्षका लागि डेपुटी गभर्नर पदमा पदोन्नति गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकमा करिब २० वर्षदेखि सेवारत रावल हाल बैंक सुपरीवेक्षण विभागको प्रमुख (कार्यकारी निर्देशक) का रूपमा कार्यरत थिए । बैंकिङ क्षेत्रको नियमन तथा सुपरीवेक्षणमा लामो अनुभव सम्हाल्नुभएका रावललाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नरमा नियुक्त गरेको हो।
नेपाल राष्ट्र बैंक ऐनअनुसार केन्द्रीय बैंकमा दुई जना डेपुटी गभर्नर रहने कानुनी व्यवस्था छ। लामो समयदेखि एक पद रिक्त रहँदा आन्तरिक कार्यसम्पादन तथा नीतिगत निर्णय प्रक्रियामा ढिलाइ हुँदै आएकोमा रावलको नियुक्तिसँगै राष्ट्र बैंकको उच्च व्यवस्थापन टोलीले पूर्णता पाएको छ।