कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक जङ्गलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर ४३ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको छ। भदौ २ गते दिउँसो जङ्गली बँदेललाई ताकेर हानिएको गोली लागेर विश्वकर्मा गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार स्थानीय कृष्णबहादुर बुढा क्षेत्रीले बँदेललाई लक्ष्य गरी गोली चलाउने क्रममा उक्त गोली विश्वकर्माको दाहिने छातीमा लागेको थियो। गोली लागेर गम्भीर घाइते हुनुभएका विश्वकर्मालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटनापछि संलग्न व्यक्तिहरूले शवलाई जङ्गलमै लगेर राखी फरार भएको आरोप लागेको छ। मृतकका भाइ गणेश विश्वकर्माले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले कृष्णबहादुर बुढा क्षेत्री र राकेश डगौरा थारुलाई नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा राकेश डगौरा थारुले घटनामा प्रयोग गरिएको भरुवा बन्दुक जडैठाँडास्थित काँडा नदीको बगरमा माटोमुनि लुकाएको खुलेपछि प्रहरीले दुई थान भरुवा बन्दुकसमेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।