काठमाडौं । एनसेलको नम्बरबाट नेपाल टेलिकम (एनटीसी) को नम्बरमा कल गर्दा मंगलबार दिउँसो करिब १० मिनेट फोन सेवा प्रभावित भएको छ।
एनसेलबाट एनटीसीको नम्बरमा फोन गर्दा ‘आगमन कल निषेध गरिएको छ’ भन्ने सन्देश देखिएपछि केही समय सेवाग्राहीले कल गर्न समस्या भोगेका थिए। नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले अन्तरसञ्जाल कलमा प्राविधिक समस्या देखिएको पुष्टि गरेका छन्। उनका अनुसार समस्या करिब १० मिनेटसम्म रहेको थियो।‘हाम्रो प्राविधिक टोलीले समस्याको कारण पत्ता लगाउँदैछ। करिब १० मिनेट अवरोध भएको थियो,’ प्रवक्ता लामिछानेले भनेहाल भने एनसेलबाट एनटीसीमा कल गर्ने सेवा सामान्य अवस्थामा फर्किएको नेपाल टेलिकमले जनाएको छ। प्राविधिक समस्या उत्पन्न हुनुको कारणबारे सम्बन्धित टोलीले अनुसन्धान गरिरहेको छ।