काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा समेत वर्षा हुने अनुमान गरिएको छ। तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मनसुनी न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर नेपालनजिक रहेकाले वर्षाको गतिविधि कायम रहेको महाशाखाले जनाएको छ।