काठमाडौँ । अविरल वर्षासँगै गएको पहिरोमा परी जाजरकोटमा फसेका तथा बेपत्ता नागरिकको खोज तथा उद्धारमा नेपाली सेना सक्रिय भएको छ।
जाजरकोटको भेरी नगरपालिका–२, रिसाङ आसपासका विभिन्न स्थानमा गएको पहिरोमा परी बेपत्ता तथा फसेका नागरिकको खोज तथा उद्धार कार्यमा नेपाली सेना सक्रिय भएको छ। नेपाली सेना, भवानीदल गणबाट साउन ३१ गते साँझदेखि खटिएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीसँगको सहकार्यमा उद्धार कार्यलाई निरन्तरता दिएको छ।हालसम्म १० जना घाइतेको उद्धार गरिएको छ भने २ जनाको शव निकालिएको छ। यस्तै, पहिरोमा परी बेपत्ता भएका २ जनाको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। जाजरकोटका विभिन्न तीन स्थानमा करिब ६० देखि ६५ जना नागरिक फसेको अवस्थामा उद्धार कार्य भइरहेको छ। राउतेरहबाट मात्रै हालसम्म २० जनाको उद्धार गरिएको छ भने बाँकी फसेका नागरिकको उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको छ।वर्षाका कारण पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।