चितवन । चितवन जिल्लाका विभिन्न अस्पतालहरूमा गत आर्थिक वर्षमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो रोगको सङ्क्रमण पुष्टी भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कुल तीन हजार ४१५ जनाको नमुना परीक्षण गर्दा सो सङ्ख्यामा औलोका बिरामी भेटिएका हुन्। कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा धेरैजसो वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकहरू रहेका छन्।
औलो रोग एनोफिलिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। यो रोग लाग्दा लगातार वा दिन बिराएर कडा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, सातो जाने गरी जाडो हुने, शरीरमा कम्पन छुट्ने र अत्यधिक पसिना आएर पछि ज्वरो घट्ने जस्ता लक्षणहरू देखा पर्ने किट नियन्त्रक केसीले जानकारी दिनुभयो। विगतका वर्षहरूको तुलना गर्दा आर्थिक वर्ष २०८१÷०८२ मा आठ हजार ४०५ जनाको नमुना परीक्षण गर्दा ११ जनामा र आव २०८०÷०८१ मा आठ हजार ८६० जनाको परीक्षण गर्दा १० जनामा औलो सङ्क्रमण देखिएको थियो।
नेपालमा मुख्य गरी दुई प्रजातिका औलोका परजीवीहरू ’प्लाज्मोडियम भाइभेक्स’ र ’प्लाज्मोडियम फाल्सिपारम’ पाइने गर्छन्। जसमध्ये नेपालमा ७० देखि ८० प्रतिशत बिरामीमा भाइभेक्स जातको परजीवी बढी देखिने गर्छ भने विदेशबाट आउने नेपालीहरूमा १५ देखि २० प्रतिशतसम्म फाल्सिपारम परजीवी भेटिने गरेको छ। फाल्सिपारम परजीवीले मानिसको स्नायु प्रणालीमा गम्भीर प्रभाव पार्ने भएकाले यो निकै जोखिमयुक्त मानिन्छ। औलोबाट बच्नका लागि घर, गाउँ र समुदाय सफा राख्ने, लामखुट्टेले फुल पार्ने पानी जमेका ठाउँहरू पुर्ने र राति सुत्दा अनिवार्य रूपमा झुलको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।