रोल्पा । रोल्पाको थबाङ गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
थबाङ गाउँपालिका–५ बोटलबारामा बुधबार राति करिब ८ः४० बजे घरमाथिबाट पहिरो खसेर कमलबहादुर पुन मगरको घरसहित ६ वटा घर तथा गोठ पुरिएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
पहिरोमा पुरिएर थबाङ–५ का ६० वर्षीय कमलबहादुर पुन मगर र १८ वर्षीया शान्ती पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन्। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी प्राथमिक उपचार भइरहेको छ। थप उपचारका लागि उनीहरूलाई जिल्ला बाहिर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
पहिरोमा अन्य व्यक्तिसमेत पुरिएको हुन सक्ने आशंकामा प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी तथा उद्धार कार्य जारी राखेको छ।