काठमाडौं । स्वस्थ रहनका लागि के खाने भन्ने मात्र होइन,कहिले खाने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण रहेको विभिन्न वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।
पछिल्ला अनुसन्धानहरूले मानिसको आन्तरिक जैविक घडी अर्थात् खाना पचाउने, रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने, भोक तथा शरीरमा बोसो जम्मा हुने प्रक्रियामा प्रभाव पार्ने देखाएका छन्।अनुसन्धानकर्ताहरूका अनुसार दिनको ठूलो खाना बिहान वा दिउँसो खानु र बेलुकाको खानातुलनात्मक रूपमा हल्का राख्नु स्वास्थ्यका लागि लाभदायक हुन सक्छ। विशेषगरी सुत्नुभन्दा कम्तीमा तीन घण्टा अगाडि बेलुकाको खाना सक्नु राम्रो मानिएको छ।स्पेनमा गरिएको एक अध्ययनमा समान प्रकारको तौल घटाउने कार्यक्रम अपनाएका ४२० जना वयस्कलाई सहभागी गराइएको थियो। अध्ययनमा दिउँसोको खाना चाँडै खाने व्यक्तिहरूले ढिलो खाना खानेहरूको तुलनामा बढी र छिटो तौल घटाएको पाइएको थियो।त्यस्तै, अर्को अध्ययनमा एउटै खाना फरक समयमा खाँदा शरीरको रगतमा चिनी नियन्त्रण गर्ने क्षमता र कार्बोहाइड्रेट प्रयोग गर्ने प्रक्रियामा समेत फरक परेको देखिएको थियो।
वैज्ञानिकहरूका अनुसार राति सुत्ने समय नजिक खाना खाँदा शरीरमा मेलाटोनिन नामक हर्मोनको मात्रा बढिरहेको हुन्छ। यस्तो अवस्थामा शरीरले रगतमा चिनी नियन्त्रण गर्न र इन्सुलिन प्रभावकारी रूपमा प्रयोग गर्न कठिनाइ हुन सक्छ। लामो समयसम्म यस्तो खाने बानी कायम रहँदा तौल बढ्ने तथा मधुमेहको जोखिमसँग सम्बन्ध हुन सक्ने अध्ययनहरूले देखाएका छन्।ढिलो खाना खाने बानीले भोक नियन्त्रण गर्ने हर्मोनमा समेत असर गर्न सक्छ। अनुसन्धानअनुसार राति ढिलो खाना खाँदा अर्को दिन बढी भोक लाग्ने र शरीरले आफूलाई पेट भरिएको संकेत दिने हर्मोनको मात्रा घट्न सक्ने देखिएको छहृदय स्वास्थ्यका लागि पनि खाना खाने समय महत्वपूर्ण हुन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ। फ्रान्समा एक लाखभन्दा बढी मानिसमा गरिएको अध्ययनले बिहानको खाना ढिलो खाने व्यक्तिमा मुटुसम्बन्धी रोगको जोखिम बढी देखाएको थियो। साँझ चाँडै खाना खाएर रातभरको उपवास अवधि बढाउनु पनि स्वास्थ्यका लागि लाभदायक हुन सक्ने अध्ययनले संकेत गरेको छ।तर सबै मानिसको जैविक घडी एउटै हुँदैन। केही मानिस बिहान बढी सक्रिय हुन्छन् भने केही मानिस साँझ वा राति बढी सक्रिय हुने गर्छन्। यस्ता व्यक्तिको शरीरले खानालाई प्रशोधन गर्ने तरिका पनि फरक हुन सक्छ।
विशेषज्ञहरूले नियमित समयमा खाना खाने, बिहान तथा दिउँसो फाइबरयुक्त खाना जस्तै पूर्ण अन्न, दाल, गेडागुडी र फलफूल खाने तथा बेलुकाको खाना हल्का र प्रोटिनयुक्त बनाउन सुझाव दिएका छन्। बेलुकाको खानामा माछा, कुखुराको मासु, अण्डा, बदाम तथा विभिन्न बीउहरू समावेश गर्न सकिने उनीहरूको सुझाव छ।यसैगरी पर्याप्त र गुणस्तरीय निद्रा पनि भोक तथा खानाको छनोटसँग सम्बन्धित रहेको बताइएको छ। निद्रा नपुग्दा बढी भोक लाग्ने र धेरै ऊर्जा भएका खानेकुरा खाने इच्छा बढ्न सक्ने अनुसन्धानले देखाएको छ।विशेषज्ञहरूका अनुसार सबै मानिसका लागि बेलुकाको खाना खाने एउटै निश्चित समय हुँदैन। तर दिनको मुख्य खाना सकेसम्म पहिले खाने र बेलुकाको खाना सुत्नुभन्दा कम्तीमा तीन घण्टा अगाडि सक्ने बानी स्वास्थ्यका लागि उपयोगी हुन सक्छ।