काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालबालिकालाई दिइने नियमित खोपको संख्या घटाउने र दादुरा, गलगण्ड तथा रुबेला (एमएमआर) विरुद्धको संयुक्त खोपलाई छुट्टाछुट्टै दिन सिफारिस गर्ने आदेशमा हस्ताक्षर गरेका छन्।
ट्रम्पले हाल बालबालिकाका लागि सिफारिस गरिएका १८ वटा खोपको संख्या घटाएर ११ वटा मुख्य खोपमा सीमित गर्ने बताएका छन्। उनका अनुसार गम्भीर तथा जोखिमपूर्ण रोगबाट बचाउन आवश्यक ११ वटा खोपलाई प्राथमिकतामा राखिनेछ। नयाँ आदेशअन्तर्गत दादुरा, गलगण्ड, रुबेला, डिप्थेरिया, टिटानस, कालीखोकी, पोलियो, हेमोफिलस इन्फ्लुएन्जा टाइप बी, निमोकोकल रोग, ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) र चिकेनपक्सविरुद्धका खोप समावेश छन्। ट्रम्पले एमएमआर खोप एकैपटक दिँदा जोखिमपूर्ण हुन सक्ने दाबी गर्दै यसलाई छुट्टाछुट्टै लगाउनुपर्ने धारणा राखेका छन्। तर, यस दाबीलाई समर्थन गर्ने विश्वसनीय वैज्ञानिक प्रमाण भने प्रस्तुत गरिएको छैन। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० का अनुसार एमएमआर खोपले गम्भीर समस्या निम्त्याउने जोखिम अत्यन्तै न्यून हुन्छ। सीडीसीले एमएमआर खोपलाई तीनवटा छुट्टाछुट्टै खोपमा विभाजन गर्दा कुनै अतिरिक्त स्वास्थ्य लाभ हुने वैज्ञानिक प्रमाण नरहेको जनाएको छ।
विशेषज्ञहरूले खोपको मात्रा वा समय अनावश्यक रूपमा घटाउँदा बालबालिका रोगको जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्। बालबालिकाले विभिन्न खोपका लागि पटक–पटक स्वास्थ्य संस्थामा जानुपर्ने हुँदा केही खोप छुट्न सक्ने जोखिमसमेत उनीहरूले औँल्याएका छन्। ट्रम्प प्रशासनले भने प्रस्तावित परिवर्तनको उद्देश्य अभिभावकलाई थप छनोटको अधिकार दिनु रहेको जनाएको छ। स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ। केनेडी जुनियरले पनि खोपमा पहुँच रोक्ने नभई अभिभावकलाई विकल्प उपलब्ध गराउने उद्देश्य रहेको बताएका छन्। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका अध्यक्ष डा। एन्ड्र्यु रेसिनले भने ट्रम्पको आदेशलाई ‘खतरनाक’ भन्दै वैज्ञानिक आधारमा आधारित नभएको बताएका छन्। रिपब्लिकन सिनेटर तथा चिकित्सक बिल क्यासिडीले पनि खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै राष्ट्रपतिले यस्तो परिवर्तन गर्ने विशेषज्ञता नराख्ने टिप्पणी गरेका छन्।
ट्रम्पले बालबालिकाको खोप र अटिजमबीच सम्बन्ध रहेको संकेत गर्दै आएका छन्। तर, विभिन्न वैज्ञानिक अध्ययनले एमएमआर खोप र अटिजमबीच कुनै सम्बन्ध नरहेको देखाएका छन्। सन् २०१९ मा डेनमार्कमा ६ लाख ५७ हजार ४ सय ६१ बालबालिकामा गरिएको ठूलो अध्ययनले पनि एमएमआर खोपले अटिजम गराउने वा बढाउने प्रमाण नपाएको निष्कर्ष निकालेको थियो। ट्रम्पको आदेशमा खोपमा प्रयोग हुने एल्युमिनियमको विकल्प विकास गरी ती विकल्प सुरक्षित र प्रभावकारी छन् कि छैनन् भनेर परीक्षण गर्न पनि भनिएको छ। एल्युमिनियमका थोरै मात्रामा प्रयोग हुने लवणले स्वास्थ्यमा महत्वपूर्ण जोखिम निम्त्याउने प्रमाण नरहेको अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले जनाएको छ। अमेरिकामा विद्यालय भर्नाका लागि आवश्यक खोपसम्बन्धी नियम संघीय सरकारले नभई राज्य तहबाट निर्धारण हुने भएकाले ट्रम्पको आदेश तत्काल अनिवार्य व्यवस्था नभई मार्गदर्शनका रूपमा रहनेछ।