काठमाडौं । बजारमा पर्याप्त ग्यास हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले काठमाडौं उपत्यकाका ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ।
गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानदेखि विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा प्रहरीले निगरानी र अनुगमन थालेको हो।
भारतबाट ग्यास आयातमा समस्या नरहे पनि बजारमा अभाव देखाएर उपभोक्तालाई महँगोमा बिक्री गर्ने तथा ग्यास लुकाउने गरेको गुनासो आएपछि उद्योगमन्त्री गौरी यादवले चासो लिँदै गृहमन्त्री सुधन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गरेकी थिइन्।
मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिएका थिए। सोहीअनुसार उपत्यकाका विभिन्न डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी वास्तविक अवस्था बुझ्ने र कालोबजारी निगरानी गर्ने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ।
ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गरेको पाइए तत्काल कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ।
उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो र बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी विस्तार गरिने मन्त्रालयको भनाइ छ।
सरकारले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई दुःख दिने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ। कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई थप कडाइ गर्ने तयारीसमेत सरकारले गरेको जनाएको छ।