बाजुरा । धर्तीको भू–स्वर्गका रूपमा परिचित बाजुराको पर्यटकीय, ऐतिहासिक तथा धार्मिक आस्थाको धरोहर बडीमालिकामा यस वर्षको जनैपूर्णिमा मेलाको पूजा आरम्भ आउँदो भदौ १ गते (श्रावण शुक्ल पक्षको पञ्चमी तिथि) देखि सुरु हुने भएको छ।
बडी मालिकामा मुख्य पूजा भने जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन (भदौ ११ गते) हुने गर्दछ। यद्यपि, मेलामा आउने तीर्थालु भक्तजनको बाक्लो भिडलाई ध्यानमा राख्दै भदौ १ गते नै यज्ञ स्थापना गरी नियमित पूजा आरम्भ गरिने मन्दिरका पुजारी नेत्रप्रसाद उपाध्यायले जानकारी दिए। सदरमुकाम मार्तडीमा आयोजित सर्वपक्षीय छलफलका क्रममा पुजारी उपाध्यायले केही दिन अघिदेखि नै पूजा सुरु गर्दा दर्शनार्थीलाई बडी मालिका माताको दर्शन गर्न सहज हुने बताएका हुन्। उक्त सर्वपक्षीय बैठकले बडी मालिका र बुढीनन्दामा लाग्ने मेलाको उचित व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ।
समुद्री सतहबाट ४ हजार २ सय १९ मिटरको उचाइमा अवस्थित बडी मालिका प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वले भरिपूर्ण छ। यहाँ रहेका २२ वटा फाँट (पाटन), त्रिवेणी र नाटेश्वरी यसका मुख्य आकर्षण मानिन्छन्। हालै नेपाली सेनाले करिब २ करोड रूपैयाँको लागतमा प्यागोडा शैलीको भव्य मन्दिर निर्माण गरेपछि बडी मालिकाको आकर्षण थप बढेको छ।
बडी मालिकामा हरेक वर्ष जनैपूर्णिमाका अवसरमा विशेष मेला लाग्ने गर्छ। गत वर्ष मुख्य पूजा साउन २३ गते परेको भए पनि साउन १४ गतेदेखि नै नवाह लगाएर पूजा आरम्भ गरिएको थियो। गत वर्ष करिब ५० हजार दर्शनार्थीले बडी मालिकाको दर्शन गरेका थिए। यहाँ बाजुरा, डोटी र जुम्लाबाट सरकारी टोली नै पूजा सामग्रीसहित जाने परम्परा रहिआएको छ।
नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले चुनावी अभियानका क्रममा धनगढीमा बडी मालिकालाई ‘स्विट्जरल्यान्ड बाउ’ भनेर सम्बोधन गरेपछि यो क्षेत्र विश्वभर थप चर्चामा आएको स्थानीय पथप्रदर्शक (गाइड) नरबहादुर रावलले बताए। उनका अनुसार उक्त भनाइपछि बडी मालिका पर्यटकहरूको प्रमुख रोजाइ बन्दै गएको छ।
धार्मिक विश्वासअनुसार मल्लागिरी पर्वत (बडीमालिका) मा सतीदेवीको बायाँ कुम पतन भएको र त्यहीँ मन्दिर स्थापना गरी पूजाआजा सुरु गरिएको जनविश्वास छ। बडी मालिका माताको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने, रोगव्याधि हट्ने र पुत्र नहुनेलाई पुत्र लाभ हुने धार्मिक आस्था छ।
वरपरका हरियाली फाँटमा चरिरहेका भेडा र घोडाका बथान, हिउँदमा हिउँ र बर्खामा कुहिरोको घुम्टोमा सजिने बडी मालिका क्षेत्रमा डाँफे, मुनाल, कस्तुरी मृग, झारलजस्ता दुर्लभ वन्यजन्तु तथा पक्षीहरू समेत देख्न पाइन्छ। प्रकृति र अध्यात्मको अद्भुत सङ्गम मानिने बडी मालिकालाई ‘स्वर्गभित्रको नयाँ संसार’का रूपमा पनि चिनिन्छ।