काठमाडाैँ । तेह्रथुमको फेदाप गाउँपालिका–१ पोक्लाबाङमा निर्माणाधीन सांस्कृतिक सङ्ग्रहालय भवनको काम अन्तिम चरणमा पुगेको छ।
याक्थुङ (लिम्बू) समुदायको ऐतिहासिक पहिचान, मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले निर्माण भइरहेको सङ्ग्रहालयले पूर्णता पाउने तयारी गरेको हो। सहरी विकास मन्त्रालयको भ्याटसहित २ करोड ७३ लाख रुपैयाँको बजेटमा बहुवर्षीय योजनाअन्तर्गत भवन निर्माण भइरहेको छ। यद्यपि, भवनको छानामा प्रयोग गरिएको झिङ्गटी गुणस्तरीय नभएको पाइएपछि त्यसको पुनःनिर्माण भइरहेको छ।
याक्थुङ समुदायले ऐतिहासिक माङ्गेन्ना यकका रूपमा मान्दै आएको पोक्लाबाङमा निर्माण भइरहेको यस सङ्ग्रहालयमा समुदायका पुराना सांस्कृतिक सामग्री, ऐतिहासिक दस्तावेज तथा तत्कालीन गोर्खा–लिम्बूवान युद्धकालीन हातहतियार सङ्कलन गरी राखिनेछ। सङ्ग्रहालय सञ्चालनमा आएपछि लिम्बू समुदायको इतिहास, भाषा, संस्कृति, परम्परा र पुर्खाले प्रयोग गरेका ऐतिहासिक सामग्रीको संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले भावी पुस्तालाई आफ्नो ऐतिहासिक पहिचान र सांस्कृतिक विरासतबारे जानकारी दिने महत्वपूर्ण केन्द्रका रूपमा समेत भूमिका खेल्ने विश्वास गरिएको छ।