काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैँको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
नवरात्रको अवसरमा देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। नवरात्रको पहिलो दिन आइतबार घरघरमा वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखिएको थियो। सोही दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो। आज भने घटस्थापना गरिएको स्थानमा ब्रह्मचारिणी देवीको आह्वान गरी विशेष पूजा गरिँदैछ।
धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवीलाई तपस्या, त्याग, संयम र साधनाको प्रतीकका रूपमा लिइन्छ। देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुने विश्वास छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन दुर्गा भवानीको विशेष पूजा आराधना गर्ने परम्परा छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ। नौ दिनसम्म गरिएको पूजापाठबाट प्राप्त प्रसादस्वरूप जमरा र टीका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार सम्पूर्ण प्राणीलाई ब्रह्मको बोध गराउन निरन्तर साधनामा लागिरहने देवीलाई ब्रह्मचारिणी भनिएको हो। नवरात्रका अवसरमा देशका विभिन्न शक्तिपीठहरूमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ। यसैगरी, काठमाडौंस्थित हनुमानढोका दरबार परिसरको दशैँघरमा पनि परम्परागत विधिअनुसार ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ।