काठमाडौं । बडादशैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्ये चौथो स्वरूपकी देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
देशभरका देवी मन्दिर तथा घरघरका पूजा कोठामा भक्तजनले श्रद्धापूर्वक देवीको पूजा गरिरहेका छन्। धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने परम्परा छ। देवीले भक्तजनका दुःख, कष्ट तथा तीन प्रकारका ताप निवारण गर्ने विश्वास गरिन्छ। त्यसैले नवरात्रको चौथो दिन कुष्माण्डा देवीको आराधनालाई विशेष महत्त्वका साथ लिने गरिन्छ।
श्री दुर्गा सप्तशती अर्थात् चण्डी र विभिन्न पुराणमा कुष्माण्डा देवीको महिमा वर्णन गरिएको छ। धार्मिक विश्वासअनुसार देवीको उपासनाबाट शक्ति, ऐश्वर्य र विद्याको प्राप्ति हुने मान्यता छ। नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार घटस्थापना गरी दशैँ घर तथा पूजा कोठामा जमरा राखिएको थियो। त्यस दिन नवदुर्गाको पहिलो स्वरूप शैलपुत्रीको पूजा गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिएको थियो। आज चौथो दिन कुष्माण्डा देवीको पूजा भइरहेको छ।
शास्त्रीय परम्पराअनुसार नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा गरिन्छ। नवरात्रभरि दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ पाठ गर्ने चलन पनि छ। यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, कलङ्कीमाई र बज्रयोगिनीलगायत मन्दिरमा भक्तजन दर्शन तथा पूजाआराधनाका लागि पुग्ने गरेका छन्।
त्यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, मनकामना, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि नवरात्रका अवसरमा विशेष पूजा आराधना गरिन्छ। नेपाली समाजमा बडादशैँलाई धार्मिक, सांस्कृतिक र पारिवारिक महत्त्व बोकेको प्रमुख पर्वका रूपमा मनाइन्छ। नवरात्रको नौ दिन देवीको आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी दशैँ मनाउने परम्परा छ।