काठमाडौँ । नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु भएको छ।
राष्ट्रिय एकता सुदृढ बनाउने, सनातन वैदिक संस्कृतिको संरक्षण गर्ने तथा वैदिक विश्वविद्यालय स्थापनाको आधार तयार पार्ने लक्ष्यसहित रथयात्रा आयोजना गरिएको हो। मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले गत आइतबार पवित्र मुक्तिनाथधामबाट रथयात्राको शुभारम्भ गरेका हुन्। नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको आयोजनामा सञ्चालन भएको यात्रा बागलुङस्थित पञ्चकोट हुँदै अघि बढेको छ। रथयात्राले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेका तीर्थस्थलहरूको परिक्रमा गर्ने कार्यक्रम छ। आगामी मङ्सिर १ गते नवलपुरस्थित श्रीगजेन्द्रमोक्षधाम, त्रिवेणीधाममा पुगेर यात्रा समापन हुने आयोजकले जनाएको छ।
धार्मिक पर्यटन र राष्ट्रिय एकतामा जोड
स्वामी कमलनयनाचार्यका अनुसार रथयात्रा धार्मिक अनुष्ठानमा मात्र सीमित नभई राष्ट्रिय एकताको भावना बलियो बनाउने अभियान पनि हो। सामाजिक सद्भाव र सहिष्णुता अभिवृद्धि गर्नु, सनातन संस्कृतिका मौलिक मूल्य–मान्यताको संरक्षण गर्नु तथा नेपालको धार्मिक सम्पदालाई नयाँ पुस्तामाझ परिचित गराउनु यसको प्रमुख उद्देश्य रहेको उनले बताए। देशका ऐतिहासिक तीर्थस्थलबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्दै आन्तरिक पर्यटन, तीर्थाटन र स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्यसमेत राखिएको छ।
त्रिवेणीधाममा मङ्सिरदेखि महायज्ञ
रथयात्रा समापन हुने दिन मङ्सिर १ गतेदेखि त्रिवेणीधाममा वैदिक विश्वविद्यालय स्थापनाको उद्देश्यसहित अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ सञ्चालन हुने कार्यक्रम छ। उक्त महायज्ञ मङ्सिर महिनाभर सञ्चालन गरिने आयोजकले जनाएको छ। रथयात्राका क्रममा भगवान् श्रीमुक्तिनाथको पवित्र जल तथा प्रसाद वितरण गरिनेछ। यात्राले समेट्ने विभिन्न स्थानका श्रद्धालु, धर्मानुरागी तथा सनातन संस्कृतिप्रेमीलाई भगवान्को दर्शन गर्न, पवित्र जल तथा प्रसाद ग्रहण गर्न र धार्मिक अभियानमा सहभागी हुन स्वामी कमलनयनाचार्यले आह्वान गरेका छन्। आयोजकले रथयात्रामार्फत नेपालको धार्मिक पहिचानको प्रचारप्रसारसँगै सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरेको छ।