काठमाडौं । सन्तानको दीर्घायु, स्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै तराई–मधेसका महिलाले मनाउँदै आएको जितिया पर्व आइतबार विभिन्न धार्मिक विधि पूरा गरी सम्पन्न भएको छ।
असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने यो पर्व शुक्रबारदेखि सुरु भएको थियो। जितियालाई ‘जीवितपुत्रिका व्रत’का रूपमा समेत चिनिन्छ। धार्मिक तथा सांस्कृतिक विश्वासअनुसार व्रतालु महिलाहरूले सन्तानको दीर्घायु र स्वास्थ्यका लागि निराहार व्रत बस्ने गर्छन्। व्रत गरेमा सन्तानलाई विभिन्न दुःख तथा समस्याबाट जोगाउन सकिने धार्मिक विश्वास रहिआएको छ।
पर्वको पहिलो दिन व्रतालु महिलाहरू नजिकका पोखरी, तलाउ तथा जलाशयमा स्नान गरी घिरौँलाको पातमा तोरीको तेल, सिन्दूर, तोरीको पिना, मेहन्दीको पात र फूललगायत सामग्री चढाएर ‘नहाय–खाय’ विधि पूरा गर्छन्। व्रत बस्नुअघि मध्यरातमा दही–च्युउरा, माछा तथा कोदो (मरुवा) खाने परम्परा रहेको छ। त्यसपछि शनिबार बिहान करिब ४ बजेदेखि व्रतालु महिलाहरूले निराहार उपवास सुरु गरेका थिए। आइतबार बिहान नवमी तिथि सुरु भएपछि पूजाआजा तथा अन्य धार्मिक विधि पूरा गर्दै व्रत तोडेसँगै यस वर्षको जितिया पर्व सम्पन्न भएको हो।
गोलबजार नगरपालिका–१० की व्रतालु गीता देवी झाले जितियामा परम्परागत विधि र धार्मिक मान्यताअनुसार व्रत बस्ने गरेको बताइन्। उनले पर्वको समापनसमेत निर्धारित धार्मिक विधिअनुसार गर्ने गरिएको जानकारी दिइन्। विशेषगरी थारू समुदायमा महत्त्वपूर्ण पर्वका रूपमा मनाइने जितियामा महिलाहरूले सन्तानको सुख, दीर्घायु र परिवारको समृद्धिको कामना गर्दै जिमुतवाहन देवताको पूजा गर्छन्। यस अवसरमा जितियासँग सम्बन्धित धार्मिक कथा सुन्ने तथा पूजाका क्रममा फलफूललगायत सामग्रीले डाली भर्ने परम्परा पनि छ।
गोलबजार नगरपालिका–८ की व्रतालु रामकुमारी यादवका अनुसार जितियाको सुरुवात घिरौँलाको पातमा पूजा गरेर गरिन्छ। पर्वको समापनका क्रममा केराको पातमा दही–च्युउरा, फलफूललगायत प्रसाद राखेर पूजा गर्ने चलन रहेको उनले बताइन्। जितिया पर्व धार्मिक आस्थामा मात्र सीमित नभई तराई–मधेसका विभिन्न समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको महत्वपूर्ण प्रतीकका रूपमा समेत स्थापित हुँदै आएको छ।