काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार स्वास्थ्य सेवा सुधार र पूर्वाधार विकासका विषयमा छलफल भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको भेटवार्तामा मानसिक अस्पताल, लगनखेल अगाडि निर्माण प्रस्ताव गरिएको अपांगमैत्री पुलका साथै ललितपुर महानगरभित्रको समग्र स्वास्थ्य क्षेत्रको विकासबारे विचारविमर्श गरिएको हो। छलफलका क्रममा महानगरपालिकाभित्र रहेका सरकारी अस्पतालहरूको सेवा गुणस्तर अभिवृद्धि, आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था, स्वास्थ्य पूर्वाधार विस्तार तथा संघीय सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको थियो। मन्त्री मेहताले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाको सेवा सुधार र विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। त्यसैगरी, महानगर प्रमुख महर्जनले ललितपुरका स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा आवश्यक स्वास्थ्य पूर्वाधार विकासका लागि महानगरपालिकाले संघीय सरकारसँग सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।