काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै नेपाली बजारमा खानेतेल र वनस्पति घिउको मूल्य निरन्तर बढ्न थालेपछि उपभोक्ताको भान्साको खर्च थप चर्किएको छ।
पछिल्लो दुई सातामै विभिन्न प्रकारका खानेतेल र घिउको मूल्य प्रतिलिटर ५ देखि १५ रुपैयाँसम्म बढेको देखिएको छ भने एक वर्षको अवधिमा केही तेलको मूल्य ५० रुपैयाँसम्म महँगिएको छ। बजारमा मूल्यवृद्धिसँगै यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा उद्योगी र खुद्रा व्यापारीबीच आरोप–प्रत्यारोप सुरु भएको छ।
खुद्रा व्यापारीले उद्योगी तथा आयातकर्ताले पुरानै स्टकमा नयाँ मूल्य निर्धारण गरेर बजारमा पठाएको आरोप लगाएका छन् भने उद्योगीले अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थ र अमेरिकी डलरको मूल्य बढेकाले लागतमा असर परेको दाबी गरेका छन्।
खुद्रा व्यापार क्षेत्रका व्यवसायीका अनुसार मूल्य बढाउने निर्णयमा उनीहरूको कुनै भूमिका नरहेको र उपभोक्ताको असन्तुष्टि भने खुद्रा पसलेले नै व्यहोर्नुपरेको छ। उनीहरूले बजारमा आउने तेलको मूल्य उद्योगबाटै बढेर आउने गरेको दाबी गरेका छन्।
यता वनस्पति घिउ तथा तेल उत्पादकहरू भने आफूहरूले मनपरी मूल्य नबढाएको बताउँछन्। उनीहरूका अनुसार नेपालमा खानेतेल उत्पादनका लागि आवश्यक कच्चापदार्थ पूर्ण रूपमा आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय मूल्य र विनिमय दरको प्रभाव प्रत्यक्ष रूपमा बजारमा पर्ने गर्छ।
यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेतेलको मूल्यवृद्धिबारे केही गुनासा प्राप्त भए पनि पछिल्लो समय एलपी ग्यासको बजार अनुगमनमा केन्द्रित रहनुपरेकाले तेलको विस्तृत अनुगमन हुन नसकेको जनाएको छ। विभागले खुद्रा पसलभन्दा उद्योग वा आयातकै तहबाट मूल्य बढेको विषयमा अध्ययन गरिरहेको जनाएको छ।
चाडपर्व नजिकिँदै जाँदा खानेतेलको माग अझ बढ्ने भएकाले कृत्रिम अभाव सिर्जना गरी मूल्य वृद्धि हुन सक्ने भन्दै उपभोक्ता अधिकारकर्मीले सरकारलाई प्रभावकारी बजार अनुगमन गर्न आग्रह गरेका छन्। उनीहरूले उपभोक्ताको हित संरक्षणका लागि मूल्यवृद्धिको वास्तविक कारण सार्वजनिक गर्दै आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्।