काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक महाङ्काल मन्दिर परिसरमा रहेको जीर्ण ‘चौघेरा सत्तल’ को पुनःनिर्माण सम्पन्न गरी उद्घाटन गरेको छ। बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त सत्तलको समुद्घाटन गरेकी हुन् ।
विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त उक्त सत्तल पुनःनिर्माणका लागि विसं २०८१ मङ्सिर २४ गते शिलान्यास गरिएको थियो। कुल ८ करोड ९४ लाख ४६ हजार १७० रुपैयाँको लागतमा यो परियोजना सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले नवनिर्मित संरचनाको संरक्षणमा सबै पक्षको समान अपनत्व आवश्यक रहेको बताउँदै गुठी संस्थानले संरचना हस्तान्तरणको माग गरिरहेको सन्दर्भमा उनले, “हामी संरचना हस्तान्तरण गर्न तयार छौँ, तर यसको उपयोग कसरी हुन्छ भन्नेमा स्पष्ट हुन चाहन्छौँ। करदाताको लगानीमा बनेका यस्ता स्मारक क्षेत्रमा व्यावसायिक क्रियाकलाप गर्ने विषयमा हाम्रो सहमति हुन सक्दैन। यहाँ धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधि मात्रै हुनुपर्छ।” बताईन् ।
कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले महानगरपालिका भत्किएका सम्पदा हेरेर बस्न नसक्ने बताउँदै निकायहरूबीचको समन्वयको अभावमा पनि सम्पदा संरक्षणको दायित्व महानगरले लिइरहेको छ ।
पुरातत्व विभागको मापदण्ड र वि.सं. १९९७ को ऐतिहासिक तस्बिरलाई आधार मानेर निर्माण गरिएको यो सत्तलमा परम्परागत निर्माण सामग्रीको प्रयोग गरिएको छ।
नेवार तान्त्रिक परम्परा, बौद्ध र हिन्दू धर्मावलम्बीहरूको साझा देवताका रूपमा पूजित महाङ्काल मन्दिर करिब १,३०५ वर्ष पुरानो मानिन्छ। मन्दिरका मूल पुजारी दीपकहर्ष बज्राचार्यका अनुसार, शिव शक्तिलाई तान्त्रिक साधनाद्वारा काठमाडौँमा स्थापना गरिएको किंवदन्ती यस मन्दिरसँग जोडिएको छ।
यो मन्दिर विशेषगरी सङ्कटको समयमा छुटकारा पाउने, दुःख निवारण गर्ने र खराब कर्मको प्रायश्चित गर्ने स्थलका रूपमा प्रसिद्ध छ। तिब्बती बौद्धमार्गीहरूका लागि यो एक प्रमुख तीर्थस्थल हो भने मारवाडी समुदायले यसलाई शनिदेवका रूपमा श्रद्धापूर्वक पूजा गर्ने गर्दछन्।
उद्घाटन कार्यक्रममा वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग र गुठी संस्थानका उपप्रशासक राजेन्द्र दाहाल लगायतले सम्पदा संरक्षणमा महानगरको भूमिकाको प्रशंसा गरे ।